चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ नेकपाबाट उम्मेदवारी दिनुभएकी रेनु दाहालले जानकार र सक्षम नेतृत्वको आधारमा प्रतिनिधि चयन हुनुपर्ने बताउनुभएको छ ।
उहाँले देशभरका ७५३ पालिका प्रमुखमध्ये आफू जत्तिको अनुभव र काम गर्ने क्षमता अरू कसैमा नभएको दाबी गर्नुभएको छ। माडीको बसन्तपुरमा सम्पन्न ‘रेनु दाहाल विजय अभियान’ अन्तर्गत आयोजित सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएकी दाहालले यस्तो अभिव्यक्ति दिनुभएको हो।
उहाँ भरतपुर महानगरपालिकाकी पूर्व प्रमुख पनि हुनुहुन्छ।
कार्यक्रममा बोल्दै दाहालले नेतृत्व छान्दा क्षमता, अनुभव र कार्यसम्पादनलाई आधार बनाउनुपर्नेमा जोड दिनुभयो। “यदि जान्नेलाई छान्ने हो भने ७५३ पालिका प्रमुखमध्ये म जत्तिको जान्ने कोही छैन,” उहाँको भनाइ थियो।
उहाँले आफ्नो कार्यकालमा भरतपुर महानगरपालिकालाई देशकै उत्कृष्ट महानगरका रूपमा स्थापित गरेको दाबी गर्नुभयो। पूर्वाधार विकास, सेवा प्रवाह सुधार, पर्यटन प्रवर्द्धन र सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएको उहाँको दाबी थियो।
यसै क्रममा दाहालले आफूलाई ‘नेताको छोरी’ भन्ने उपमा दिएर अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। क्षमता र कामका आधारमा मूल्यांकन हुनुपर्ने बताउँदै उहाँले पारिवारिक पृष्ठभूमिका आधारमा गरिने टिप्पणी अनुचित रहेको उल्लेख गर्नुभयो।
आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट आफू ‘नयाँ उम्मेदवार’ रहेको दाबी गर्दै दाहालले जनताले परिवर्तन र परिणाम दिने नेतृत्व रोज्ने विश्वास व्यक्त गर्नुभयो।
माडी क्षेत्रको समग्र विकासका लागि आफू सधैं प्रतिबद्ध रहेको बताउँदै उहाँले कृषि, पर्यटन, सडक पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
