चितवनमा निर्वाचन प्रहरीको बिदाई गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच जिल्लाभर खटिएका २ हजार ७६६ जना निर्वाचन प्रहरीलाई बिदाई गरिएको हो ।
उद्योग उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित बिदाई कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र प्रदान गर्दै बिदाई गरिएको हो । निर्वाचन प्रहरी ४० दिने सेवा अवधि पूरा गर्दै बिदा भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले प्रमाण पत्र प्रदान गर्दै निर्वाचन प्रहरीको बिदाई गरेका हुन् । सो क्रममा प्रजिअ अर्यालले निर्वाचन प्रहरीलाई आवश्यकताको आधारमा रोजगारी र तालिमको अवसर व्यवस्थापन गरिएको जानकारी गराए । ‘तपाईहरुलाई फेरि बेरोजगार बनाउने हाम्रो चाहना छैन, सीपको आधारमा रोजगार र चाहना अनुरुप तालिमको व्यवस्थापन गरेका छौं’–प्रजिअ अर्यालले निर्वाचन प्रहरीलाई अवसर सुनाउँदै भने ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले निर्वाचन सम्पन्न गराउन दिनरात अनुशासित ढंगले काममा खटिएको निर्वाचन प्रहरीलाई धन्यवाद दिए । उनले आगामि दिनमा पनि रहेक सुखदुखमा नेपाल प्रहरीसंगै रहने भन्दै समाजमा महत्वपूर्ण योगदान दिन आग्रह गरे ।
‘आज तपाईहरुलाई बिदाई गरिएको होइन, फेरि भेटौला भनेर प्याकेज ल्याएका छौं, तपाईहरुको भविष्य उज्जवल हुनुपर्छ’–निर्वाचन प्रहरीलाई प्रेरणा दिदै प्रहरी प्रमुख गोविन्द पुरीले भने ।
यसैबीच निर्वाचन प्रहरीलाई मानविय सेवामा सक्रिय बनाउन र सचेतना जगाउन रक्तदान कार्यक्रम समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय र ब्लड डोनर्स सोसाइटीको आयोजनामा बिदाई कार्यक्रम स्थमा गरिएको रक्तदानमा १३५ जना निर्वाचन प्रहरीले रक्तदान गरेको ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।
‘अहिले चितवनमा रगत अभाव छ, निर्वाचन प्रहरीलाई रक्तदानमा सरिक गराउँदा रक्तदान बारे थप सचेतना जगाउन सहज भएको छ’–अध्यक्ष अधिकारीले भने ।
कार्यक्रममा नयाँ सबुज दल गणका प्रमुख, शसस्त्र प्रहरी बल १७ नम्बर गणका प्रमुख, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर–१० का प्रमुख विज्ञान अधिकारी, दुई जना निर्वाचन प्रहरीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
