अजित अधिकारी
विदेशिनु नै सफलताको बाटो हो भन्ने सोच अझै धेरै युवामाझ बलियो रूपमा देखिन्छ ।
तर मेहनत, धैर्य र दृढ संकल्प भए आफ्नै गाउँ–ठाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण चितवनको कालिका नगरपालिका–१ का युवा किसान भुवन श्रेष्ठले देखाएका छन् ।
स्वदेशमै केही गरौँ भन्ने सोचका साथ उनले करिब ५–६ वर्षअघि व्यावसायिक तरकारी खेती सुरु गरेका थिए । सुरुमा ठूलो लगानी वा आधुनिक संरचना नभए पनि सानो पूँजी र मेहनतका भरमा उनले कृषि यात्राको सुरुवात गरे । श्रेष्ठका अनुसार उनले करिब २०–२५ हजार रुपैयाँ लगानीबाट खेती सुरु गरेका थिए ।
“सुरुवातमा धेरै अनुभव पनि थिएन, तर खेतीप्रति रुचि थियो,” उनले भने, “बिस्तारै सिक्दै जाँदा खेती पनि बढाउँदै लगेँ र अहिले राम्रो आम्दानी हुन थालेको छ ।”
हाल श्रेष्ठले करिब १० कठ्ठा जमिनमा गोलभेंडा, बोडी, मकै लगायत विभिन्न मौसमी तरकारी उत्पादन गर्दै आएका छन् । उत्पादन भएका तरकारी स्थानीय बजारमा बिक्री गर्दा खर्च कटाएर वार्षिक करिब ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।
उनका अनुसार कृषि पेशा मेहनत र धैर्य माग्ने भए पनि सही तरिकाले गरे राम्रो प्रतिफल दिन सक्छ । “कृषि भनेको निरन्तरता र योजना चाहिने पेशा हो,” श्रेष्ठ भन्छन्, “मेहनत गर्न सकेपछि खेतीबाट पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ ।”
कृषिले घटाउन सक्छ विदेश जाने बाध्यता
नेपालमा रोजगारीको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा कृषिले त्यसलाई कम गर्न सक्ने श्रेष्ठको विश्वास छ । कृषि क्षेत्रमा सम्भावना भए पनि पर्याप्त प्रोत्साहन नपाउँदा धेरै युवाहरू यो पेशाबाट टाढा रहेको उनको अनुभव छ ।
उनले स्थानीय तहले कृषि क्षेत्रमा लाग्न चाहने युवालाई तालिम, आधुनिक प्रविधि र अनुदान उपलब्ध गराए धेरै युवालाई खेतीतर्फ आकर्षित गर्न सकिने बताए । “हामीजस्ता किसानलाई आवश्यक सहयोग र तालिम मिले अझ धेरै युवाले कृषि रोज्न सक्छन्,” उनले भने, “त्यसो भयो भने विदेश जाने बाध्यता पनि कम हुँदै जान्छ ।”
स्थानीय युवाका लागि प्रेरणाको उदाहरण
कम लगानीबाट सुरु भएको श्रेष्ठको कृषि यात्रा अहिले आत्मनिर्भर आम्दानीको माध्यम मात्र बनेको छैन, आसपासका युवाका लागि पनि प्रेरणाको कथा बनेको छ ।
उनको अनुभवले देखाएको छ
सही सोच, निरन्तर मेहनत र आफ्नै माटोप्रतिको विश्वास भए स्वदेशमै पनि सम्भावनाको भविष्य निर्माण गर्न सकिन्छ।
