चितवनको माडीस्थित प्रस्तावित अयोध्याधाममा प्रत्येक वर्षझैं यस वर्ष पनि त्रिदिवसीय संगीतमय सत्सङ्ग कार्यक्रम आयोजना हुने भएको छ ।
धार्मिक आस्था र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिने उक्त कार्यक्रम रामनवमी पर्वको अवसर पारेर यही चैत ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीका अनुसार कार्यक्रम अन्तर्गत दैनिक रूपमा विविध धार्मिक गतिविधिहरू सञ्चालन गरिनेछन् । बिहान ८ बजेदेखि नियमित पूजापाठ सुरु गरिनेछ भने दिउँसो १ बजेदेखि ५ बजेसम्म प्रवचन तथा धार्मिक झाँकी प्रदर्शन गरिनेछ ।
त्यसैगरी बेलुका ७:३० बजेदेखि राति १० बजेसम्म संगीतमय सत्सङ्ग, भजन–कीर्तन तथा विशेष पूजा कार्यक्रम आयोजना गरिने तालिका रहेको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरूको सहभागितासहित विभिन्न धार्मिक झाँकीहरू प्रस्तुत गरिनेछ, जसले धार्मिक वातावरणलाई अझ आकर्षक र जीवन्त बनाउने अपेक्षा गरिएको छ । साथै, देशका विभिन्न स्थानबाट धर्मप्रेमी श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास रहेको छ ।
उक्त धार्मिक कार्यक्रमको उद्घाटन माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहलाई भव्य बनाउन विशेष तयारी भइरहेको जनाइएको छ ।
कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन समितिले विभिन्न उपसमितिहरू गठन गरिसकेको छ । सुरक्षा, व्यवस्थापन, प्रचार–प्रसार तथा अतिथि सत्कार लगायतका जिम्मेवारी छुट्टाछुट्टै उपसमितिलाई दिइएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
आयोजकले सबै धर्मावलम्बी तथा श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक पुण्य लाभ लिन अनुरोध समेत गरेको छ । त्रिदिवसीय सत्सङ्गले माडी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
