देवघाट गाउँपालिकामा इसाई समाज देवघाट, तनहुँको आयोजनामा जिल्लाव्यापी इस्टर (पुनरुत्थान दिवस) महोत्सव सम्पन्न भएको छ।
देवघाट–५ स्थित हाटबजार क्षेत्रमा आयोजित कार्यक्रममा तनहुँ जिल्लाभर छरिएर रहेका किश्चियन समुदायका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सबै धर्महरूको आ-आफ्नै महत्व रहेको उल्लेख गर्दै धार्मिक सहिष्णुता र आपसी सम्मानलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले प्रत्येक समुदायले आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी अध्यक्ष थापाले देवघाट क्षेत्रभित्र रहेका मठमन्दिर, चर्च, गुम्बा लगायत धार्मिक स्थलहरू गाउँपालिकामा सूचीकृत गराउन आह्वान गर्नुभयो।
सूचीकृत संस्थाहरूलाई संरचना निर्माण, संरक्षण तथा कार्यक्रम सञ्चालनमा गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।
धार्मिक सहअस्तित्व, सांस्कृतिक संरक्षण र समुदायबीचको एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले देवघाट क्षेत्रमा धार्मिक सद्भावलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
