चितवनको माडीमा नयाँ वर्षको अवसर पारेर पाँचौँ संस्करणको “न्यू इयर कप–२०८३” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। युवाहरूलाई खेलकुदमार्फत अनुशासन, चेतना र राष्ट्र निर्माणतर्फ अभिप्रेरित गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
माडी–३, पोहरीस्थित योद्धा स्टार क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता वैशाख १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता माडीस्तरीय नकआउट फुटबल ढाँचामा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद रु. ४०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु. १,०००, नव प्रतिभाशाली खेलाडीलाई रु. ५००, उत्कृष्ट गोलकिपरलाई रु. ५०० र सर्वाधिक गोलकर्तालाई रु. ५०० नगदसहित सम्मान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि दर्ता शुल्क रु. ४,००० तोकिएको छ भने टिम दर्ताको अन्तिम म्याद चैत २५ गतेसम्म रहेको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको मुख्य प्रबन्धक माडी नगरपालिका–३ को कार्यालय रहेको छ भने खेलहरू बसन्तपुरस्थित खेल मैदानमा सञ्चालन गरिनेछन्। साथै, बसन्तपुर युनाइटेड क्लब र बसन्तपुर युथ क्लब सह–आयोजकको रूपमा रहेका छन्।
स्थानीय स्तरमा खेलकुदको विकास गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।
