मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले नयाँ वर्ष २०८३ सालको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष चौधरीले शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षले नेपाली समाजमा आपसी सद्भाव, सहकार्य, सामाजिक एकता र समृद्धिको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सु–स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।
उहाँले विगतका चुनौती, दुःख र कठिनाइलाई पछाडि छोड्दै नयाँ वर्षलाई आशा, उत्साह र सकारात्मक सोचका साथ स्वागत गर्नुपर्ने उल्लेख गर्नुभयो । “नयाँ वर्ष केवल पात्रो फेरिने अवसर मात्र होइन, यो नयाँ सोच, नयाँ संकल्प र नयाँ ऊर्जा सहित अघि बढ्ने प्रेरणादायी क्षण पनि हो,” अध्यक्ष चौधरीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
मेघौली क्षेत्र प्राकृतिक, पर्यटकीय तथा जैविक विविधताले सम्पन्न क्षेत्र भएकाले यसको संरक्षण र विकासमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । मध्यवर्ती क्षेत्रका नागरिकहरूको जीवनस्तर उकास्न, पर्यटन प्रवर्द्धन गर्न तथा वन्यजन्तु संरक्षणसँगै स्थानीय आयआर्जनका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष चौधरीले नयाँ वर्षले सम्पूर्ण नेपालीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र विकासप्रतिको प्रतिबद्धता अझ बलियो बनाओस् भन्ने कामना व्यक्त गर्नुभयो । साथै उहाँले आपसी मेलमिलाप, सहिष्णुता र सहकार्यबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले विशेषगरी विदेशमा रहेका नेपालीहरूले देशप्रतिको माया, संस्कार र सामाजिक सम्बन्धलाई निरन्तर कायम राख्दै राष्ट्र निर्माणमा पुर्याइरहेको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
शुभकामना सन्देशको अन्त्यमा अध्यक्ष चौधरीले नयाँ वर्ष २०८३ सम्पूर्ण नेपालीका लागि सुखद, उपलब्धिमूलक र सफल वर्ष बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

