माडी नगरपालिकाले पर्यटन प्रवर्दन र पर्यटक सहजिकरणका लागि ‘Explore Madi’ नामक डिजिटल पोर्टलको आज औपचारिक शुभारम्भ गरेको छ ।
नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर माडीको सोमेश्वरगढीमा आयोजित कार्यक्रममा नगर प्रमुख तारा कुमारी काजी महतोले www.exploremadi.org वेबसाइटको क्यूआर कोड सार्वजनिक गर्दै पोर्टल उद्घाटन गर्नुभएको हो ।
उक्त वेबसाइटमार्फत माडीका विभिन्न पर्यटकीय क्षेत्रहरूको लोकेसन, होमस्टे सम्बन्धी विवरण, सम्पर्क नम्बर लगायत आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सकिनेछ ।
नगरपालिकाले माडीका विभिन्न स्थानहरूमा क्यूआर कोड राख्ने योजना बनाएको छ । पर्यटकहरूले ती क्यूआर कोड स्क्यान गरी प्रत्यक्ष रूपमा वेबसाइटमा पहुँच गरी आवश्यक जानकारी लिन सक्नेछन् ।
डिजिटल प्रविधिको प्रयोगमार्फत माडीको पर्यटन क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
