नेपाल औषधि प्रतिनिधि संघ (NMSRA) नारायणगढले भरतपुर कारागारमा रहेका कैदीबन्दीहरूलाई निःशुल्क औषधि वितरण गरेको छ।
कारागारका नायब सुब्बा चेतनाथ ढुंगानाको उपस्थितिमा आयोजित कार्यक्रममा कैदीबन्दीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक औषधि उपलब्ध गराइएको हो। संघका अध्यक्ष शेषकान्त खनालका अनुसार गर्मीयाम सुरु भएसँगै झाडापखाला, आउँ, हैजा, जण्डिसलगायत विभिन्न सङ्क्रामक रोगहरूको जोखिम बढ्ने भएकाले सोहीअनुसार औषधि वितरण गरिएको हो।
निःशुल्क औषधि प्राप्त गरेपछि कैदीबन्दीहरू खुसी देखिएका थिए। कार्यक्रमले कारागारभित्र स्वास्थ्य सचेतना अभिवृद्धि गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खनाल हालै सम्पन्न १२ औँ इकाई अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। माडी–७, देबेन्दपुर निवासी खनाल हाल रोजगारीका सिलसिलामा भरतपुरमा बसोबास गर्दै आएका छन्।
कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी तथा शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
