वीरगन्जमा भइरहेको सडक विस्तारको विरोधमा विहीबार स्थानीयले प्रदर्शन गरेका छन् । सहरको मध्यभाग भएर गएको त्रिभुवन राजपथमा भइरहेको २५–२५ मिटर सडक विस्तारको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।
वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा संघर्ष समितिको संयुक्त आयोजनामा स्थानीयले वीरगन्जको घण्टाघरदेखि आदर्शनगर चोकसम्म बिहान ९ बजेदेखि १०ः३० बजेसम्म मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी वीरगन्ज महानगरपालिकाका प्रथम नगरप्रमुख (मेयर) बिजय कुमार सरावगीले सडक विस्तारमा वीरगन्जवासीमाथि विभेद गरिएको आरोप लगाए ।
उनले त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडामा २५ गज सडक विस्तार गरिएको भए पनि वीरगन्जमा २५ मिटर विस्तार गरेर सरकारले स्थानीयमाथि अन्याय गरेको बताए ।
सडक विस्तार कुन र कहिलेको नक्साका आधारमा गरिएको हो भन्ने विषय स्पष्ट नगरी प्रशासनले आफूखुसी रेखांकन गरिरहेको सरावगीले आरोप लगाए ।
उनले त्रिभुवन राजपथको नक्साका आधारमा २५ गज सडक विस्तार हुनुपर्नेमा वीरगन्जवासीमाथि अन्याय गर्दै हचुवाका भरमा सडक विस्तार भइरहेको बताए ।
विरोध प्रदर्शनमा सहभागी वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले वीरगन्जको घण्टाघर चोकदेखि माइस्थानसम्मको क्षेत्रमा गरिएको सडक रेखांकन अस्पष्ट र विभेदकारी रहेको आरोप लगाए । उनले कुन नक्सा र सडकको मध्यभागलाई आधार मानिएको हो भन्ने स्पष्ट नगरी घर भत्काउने काम भइरहेको दाबी गरे ।
प्रदर्शनमा स्थानीय वृद्धदेखि बालबालिका, युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो । वीरगन्जमा भइरहेको सडक विस्तारका कारण ७ सयभन्दा बढी व्यक्ति घरवारविहीन हुने अवस्था रहेको बताइएको छ ।
