परीक्षा अवधिमा जफत गरिएका मोबाइल फोन र स्मार्ट वाच नष्ट गरिएको घटनाप्रति पत्रकार अजित अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल लाई खुला पत्र लेख्दै छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन् ।
अधिकारीले पत्रमार्फत सिरहामा एसईई, कक्षा ११ र १२ को परीक्षाका क्रममा जफत गरिएका करिब ४९६ मोबाइल फोन र ५ वटा स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । करिब एक करोड रुपैयाँ बराबरका उपकरण नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि यस विषयले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको उनको भनाइ छ ।
पत्रमा अनुशासन कायम गर्ने नाममा निजी सम्पत्ति नष्ट गर्नु कानुनी तथा नैतिक दृष्टिले उचित नभएको उल्लेख गरिएको छ । विद्यार्थीलाई गल्ती सच्याउने अवसर दिनुको सट्टा उपकरण नष्ट गर्नु गलत अभ्यास भएको भन्दै यस्तो निर्णय गर्ने र कार्यान्वयन गर्ने पक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
अधिकारीले अभिभावकले ठूलो आर्थिक भार वहन गरेर उपलब्ध गराएका सामग्री यसरी नष्ट गर्नु उचित नभएको उल्लेख गर्दै घटनालाई गम्भीर रूपमा लिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा घटनाबारे मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले परीक्षा अनुशासन कायम गर्न आवश्यक कदम भएको बताएका छन् भने धेरैले निजी सम्पत्तिमा क्षति पुर्याउनु प्रश्नयोग्य रहेको टिप्पणी गरेका छन् ।
पत्रको अन्त्यमा उनले मन्त्री पोखरेललाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक नीति तथा निर्देशन जारी गर्न आग्रह गरेका छन् । साथै शिक्षा प्रणालीलाई थप सुधार गर्दै देशलाई शिक्षित, आत्मनिर्भर र प्रविधिमैत्री बनाउनुपर्ने सुझावसमेत दिएका छन् ।
