चितवनको माडीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ। “हिँडौं प्रकृतिसँग, जोडिऔं पर्यटनसँग” भन्ने नाराका साथ माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा भोलि पदयात्रा गर्न लागिएको हो।
आयोजकका अनुसार पदयात्रा बिहान ५ बजेदेखि सुरु हुनेछ। पदयात्राको मार्ग माडी–८ स्थित बैकुण्ठ ताल मेला लाग्ने स्थानदेखि धनलक्ष्मी छहरासम्म तय गरिएको छ।
माडीका प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले यहाँका पर्यटकीय गन्तव्यलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पदयात्रामा स्थानीयवासी, पर्यटनप्रेमी, युवा तथा प्रकृतिप्रेमी सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। माडीको पर्यटन सम्भावनालाई उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।
