कृषि बिकास बैंक माडी, चितवन शाखाले ४० वर्षअघि विना धिताे १ लाख ऋण तिर्नबाँकि रहेकाे भन्दै एक परिवारसंग रकम असुल्न खाेजेपछि अचम्मकाे संकास्पद घटना बाहिरिएकाे छ ।
माडी-५ ढिकुरबारीका स्वर्गीय जयबहादुर लामिछानेकाे नाममा विगतमा कृषि विकास बैंकले २०३२ सालदेखि साना किसान विकास आयोजना (Small Farmer Development Program – SFDP) सञ्चालन गर्दाका बखत १ लाख ३ हजार विना धिताे ऋण लगेकाे र ब्याज छुट गरि सावाँ रकम तिर्नु पर्ने भन्दै कृषि बिकास बैंक माडी शाखाका प्रबन्धक समीर शर्मा र ऋण शाखाका कर्मचारी रेशम चाैधरी ढिकुरबारिस्थित लामिछाने परिवारका एक सदस्य बालकृष्ण लामिछानेकाे घरमा पुगि रू. ३० हजार नगद असुलि गरेकाे खुल्न आएकाे छ ।
संकास्पद कुरा त के छ भने ऋण ताकेताकाे लागि मुख्य कार्यालयले पत्र काटेकाे भन्दै हातमा पत्र देखाएका कर्मचारीले परिवारका सदस्य बालकृष्ण लामिछानेलाई उक्त पत्रकाे फाेटाे खिच्न समेत दिएनन् । त्यतिमात्र नभएर २०४० साल तिरकाे ऋण भन्दै झण्डै ४२ वर्षपछि रकम उठाउन आउनुले थप आशंका पैदा गरेकाे छ ।
यता, लामिछाने परिवारले भने विगतमा दिवंगत बुबाले साना किसान परियाेजनामा ऋण लगेकै भएपनि सामूहिक ऋण हुनसक्ने र उक्त समयमा विना धिताे १ लाख रूपैयाँ ऋण दिने प्रावधान नै नरहेकाे दाबि गरेकाे छ । उक्त समयमा सुनकाे मूल्य नै २५००/३००० ताेला रहेकाेले उक्त समयमा ४० ताेला सुन भनेकाे १ कराेड सरह हुनेहुँदा कुनैपनि हालतमा साे बारबरकाे विना धिताे ऋण हुन नसक्ने दाबि गरेकाे छ ।
खाताकाे विवरण र कागजपत्र दिन आनाकानी:
घटना बाहिर आएपछि गत असार ५ गते सामाजिक अगुवा सहित कृषि बिकास बैंक, माडी शाखामा थप विषय बुझ्न पुगेकाे परिवार सदस्यले आफ्नाे बुबाकाे नाममा के-कति ऋण छ त्यसकाे विवरण प्रिन्ट गरेर दिन शाखा प्रमुख समीर शर्मासंग माग गरेकाे थियाे । तर, प्रबन्धक शर्माले खाताकाे विवरण माडी शाखाबाट दिन नमिल्ने र पुराना कागजात र नगद रू. ३० हजारकाे रसिद समेत प्रिन्ट गर्न नमिल्ने बताएका थिए । कृषि बिकास बैंक माडी शाखाले अन्य थप व्यक्तिहरूबाट समेत रकम असुल गरेकाे बुझिएकाे छ ।
४० वर्षअघिकाे विनाधिताे ऋण भन्दै लिखितम् प्रमाण बिना रकम असुल्न खाेज्नु, असुल गरेकाे ३० हजारकाे समेत रसिद दिन नखाेज्नु, ताकेता पत्रकाे फाेटाे खिच्न नदिनु र ऋण खाताकाे विवरण समेत दिन नमिल्ने भन्दै संकास्पद गतिविधि गर्नुले ‘क’ वर्गकाे बाणिज्य बैंककाे पारदर्शिता र कर्मचारीकाे नियतमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेकाे छ ।
यसपछि, माैखिक रूपमा विना आधार बैंकले मागेजति रकम दिन नसकिने भन्दै असुल गरेकाे ३० हजारकाे रसिद र कृषि बिकास बैंकले बुबा जय बहादुर लामिछानेकाे नाममा रहेकाे ऋणकाे तमसुक लगायतका कागजि प्रमाणकाे प्रतिलिपि दिन लिखित सूचना माग गर्दासमेत १५ दिन कटिसक्दा समेत बैंकले उपलब्ध गराएकाे छैन ।
यसरी, विना प्रमाण बैंकले नगद असुल्न खाेजे न्यायकाे लागि आवश्यक प्रकृया अघि बढाउने लामिछाने परिवारले बताएकाे छ ।
