परराष्ट्र मन्त्रालयका उपसचिव नारायणप्रसाद वाग्ले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको नियोग उपप्रमुखका रूपमा कार्यभार सम्हाल्न निकट भविष्यमै जर्मनी जाने तयारीमा रहेका छन्। मन्त्रालयका अनुसार नयाँ राजदूत नियुक्त नभएसम्म उनले कार्यवाहक राजदूतको जिम्मेवारीसमेत निर्वाह गर्नेछन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार उपसचिव वाग्ले केही दिनभित्र जर्मनी प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनको आगमनसँगै दूतावासको प्रशासनिक तथा कूटनीतिक नेतृत्व निरन्तर रहने विश्वास गरिएको छ।
यसैबीच, हाल कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेका सागरप्रसाद फुयाल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल फर्किंदै छन्। उनी सन् २०२२ अगस्टमा बर्लिनस्थित नेपाली दूतावासमा नियोग उपप्रमुखका रूपमा आएका थिए भने सन् २०२५ नोभेम्बरदेखि कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए।
नेपाल फर्किनुअघि फुयालले आफ्नो कार्यकालमा जर्मनी तथा दूतावासको कार्यक्षेत्रमा रहेका अन्य मुलुकका नेपाली समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी नेतृत्वलाई पनि यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्रालयले वाग्लेको नेतृत्वमा दूतावासका नियमित कूटनीतिक तथा कन्सुलर सेवा प्रभावकारी रूपमा निरन्तर सञ्चालन हुने जनाएको छ।
