नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ ।
‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको सङ्ख्या धेरै रहेको पाइएको हो ।
बाघको सङ्ख्या नदी तटीय क्षेत्रमा धेरै र मानव गतिविधि हुने वन क्षेत्रमा तुलनात्मक कम देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
“चितवनको राप्ति नदी किनार क्षेत्रमा धेरै बाघ देखिएका छन्,” उहाँले भन्नुभयो, “लालझाडी क्षेत्रमा भने वन अतिक्रमण, मानिसको आवतजावतलगायत कारणले होला बाघको उपस्थिति निकै कम देखियो ।”
कृषि, वन तथा पर्यावरणले विश्व बाघ दिवसका अवसरमा गत बुधबार ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ को नतिजा सार्वजनिक गरेको थियो । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ बाट बढेर ४२९ पुगेको छ । यस सर्वेक्षणमा विविध नयाँ र रोचक तथ्यहरु देखाएको छ ।
पछिल्लो सर्वेक्षणअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ गणना गरिएका छन् ।
यस सर्वेक्षणमा बाघको आहारा प्रजातिको समेत सर्वेक्षण गरिएको छ । उक्त अध्ययनअनुसार सबैभन्दा बढी आहारा प्रजातिमा चित्तल देखिएको छ । त्यसपछि जरायो, बाह्रसिङ्गे, बँदेल, लगुना, रतुवा मृगलगायत देखिएका छन् ।
नेपालले २००९ देखि हरेक चार वर्षमा बाघ गणना गर्दै आएको छ । सन् २०२२ को गणनाअनुसार चितवनमा १२८, त्यसपछि बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ बाघको सङ्ख्या रहेको थियो । यसअघि नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो ।
