नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उनले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गरे ।
‘प्रदेश सरकारप्रति फैलाइएको धारणा सङ्घीयताको विपक्षमा छ, प्रदेशका कारणले खर्च बढ्यो भनिन्छ, त्यो अत्यन्त गलत हो’ उनले भने । तीनवटा तहका सरकारमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार प्रदेश सकार नै भएको उनको भनाइ छ । ‘सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार चाहिँ काम लाग्दैन भन्ने, साधारण खर्च बढी गर्ने चाहिँ अपरिहार्य छ भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो उचित होइन’, उनले भने ।
पत्रकारसँग कुरा गर्दै पोखरेलले संघीयतामा प्रदेश नै मुख्य भएको स्पष्ट पारे । ‘प्रदेश छैन भने सङ्घीयता नै छैन, कि सङ्घीयता नै बेठिक हो भन्नेमा जानु पर्ने उनको बुझाइ छ । सङ्घीयता ठिक हो भन्ने हो भने प्रदेशको भूमिकालाई स्विकार्नु पर्छ’, पोखरेलले भने ।
नेपालको राजनीतिक अस्थिरताको सबैभन्दा बढी सिकार प्रदेश भएको पनि उनले बताए । सरकार धेरै परिवर्तन हुँदा जनतामा नैराश्यता बढेको उनको धारणा छ ।
पोखरेलले प्रदेश सरकारमा स्थिरता होस् भनेर नै कांग्रेससँग सहकार्य गरिएको भए पनि कांग्रेसले छाडेको कारण अहिलेको अवस्था आएको उनको भनाइ छ । कांग्रेसले नेतृत्व गरेको ठाउँमा मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई निकाले पछि यस्तो अवस्था आएको उनले बताए ।
एमाले अहिले पनि कांग्रेस र नेकपा सहितको प्रदेश सरकारकै पक्षमा रहेको भए पनि कांग्रेस तीनपार्टी मिलेर सरकारमा जान तयार नरहेको उनले बताए । यद्यपि मधेस प्रदेशमा तीनपार्टीसँग मिलेर कांग्रेसले नेतृत्व गरिरहेको उनले स्मरण गराए ।
