भरतपुर महानगरपालिका–२३, मधुपुरी कृष्णचोकमा रहेको श्री शिव मन्दिरको संरक्षण तथा भौतिक पूर्वाधार विकासका लागि देवीभागवत सप्ताह ज्ञान तथा नवरात्रि धार्मिक महोत्सव आयोजना हुने भएको छ।
मन्दिरको संरक्षण, व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको धार्मिक महोत्सवमा भक्तजन तथा श्रद्धालुको उल्लेख्य सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ। महोत्सवबाट संकलन हुने सहयोग रकम मन्दिरको संरक्षण तथा पूर्वाधार विकासमा उपयोग गरिने जनाइएको छ।
महोत्सवका क्रममा धार्मिक प्रवचन, देवीभागवत कथा वाचन तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।आयोजकका अनुसार धार्मिक आस्था र विश्वाससँगै मन्दिरको दीर्घकालीन संरक्षण तथा विकासलाई समेत अभियानका रूपमा अघि बढाउने उद्देश्य रहेको छ।
महोत्सवमा सहयोग गर्ने दाताहरूलाई उनीहरूको योगदानअनुसार विशेष सम्मान गर्ने, शिलालेखमा नाम उल्लेख गर्ने तथा सम्मानसहित बाजागाजाका साथ घरदेखि कार्यक्रमस्थलसम्म लैजाने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकले महोत्सवलाई धार्मिक तथा सामाजिक अभियानका रूपमा सफल बनाउन स्थानीयवासी, भक्तजन, समाजसेवी, दाता तथा शुभेच्छुक सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि आग्रह गरेको छ। मन्दिरको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माणमा सबैको साथ र सहयोग महत्वपूर्ण हुने आयोजकको भनाइ छ।
धार्मिक आस्था, सामाजिक एकता र सामूहिक सहयोगमार्फत श्री शिव मन्दिरलाई व्यवस्थित तथा आकर्षक धार्मिक स्थलका रूपमा विकास गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो।
