नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद चितवनसम्म पुगेको छ।
कांग्रेसको देउवा पक्षले इच्छाकामनाको क्रीयाशिल सदस्यलाई संयोजक बनाएको भन्दै तीब्र असन्तुष्टि भएको हो । पूर्वसभापति शेरबहादुर देउवा पक्षले डा. शशांक कोइरालाको संयोजकत्वमा छुट्टै महाधिवेशन तयारी अघि बढाएको हो।
यसक्रममा चितवन क्षेत्र नं. २ को महाधिवेशन तयारी समिति संयोजकमा रचन कार्की र भरतपुर महानगरको संयोजकमा प्रमिश राईलाई जिम्मेवारी दिइएको छ। देउवा पक्षले चितवन जिल्ला संयोजकमा पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलाई यसअघि नै जिम्मेवारी दिएको थियो।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ। क्षेत्रीय, महानगर र जिल्ला तहमा जिम्मेवारी बाँडफाँटसँगै चितवनमा कांग्रेसभित्रको गुटगत विवाद थप सतहमा आएको छ।
