होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा पुस १४ गतेदेखि रैथाने फुड फेस्टिबल सञ्चालन हुने भएको छ ।
पुस १८ गतेसम्म हुने रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा रैथाने खानाको स्वाद लिन पाइने भएको हो । पाँच दिनसम्म चल्ने फुड फेस्टिबलमा परम्परागत खानाका परिकार पाइने ३९ वटा स्टल रहने आयोजकले आज (बिहीवार) पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
फेस्टिबलमा शुद्ध साकाहारी भोजनालयसंगै शुद्ध नेपाली खाना, थकाली खाना, थारु, नेवार लगायत विभिन्न जातजातीका खानाका परिकार, लोकल कुखुरा, हाँस तथा माछाका परिकारहरुको स्टल रहने होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) ले बताउनुभयो । फेस्टिबलको मुख्य आर्कषणको रुपमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
फेस्टिबल साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । अङग्रेजी नयाँवर्ष २०२४ र ल्होसारको अवसरमा पुस १५ र १६ गतेको लिन प्रवेश शुल्क रु. ३०० रुपैयाँ कायम गरिएको छ भने अन्य दिन नि:शुल्क प्रवेश गर्न पाइने आयोजकले जनाएको छ ।