चितवन, श्रावण ०१
चितवन मिडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आज श्रावण १ गतेदेखि लागू हुनेगरी बीमा सेवालाई सुचारु गराउने भएको छ ।
यसअघि अस्पतालले स्वास्थ बीमा बोर्डसंग जेष्ठ १८ गतेदेखि नै बीमा सेवा सुचारू गराउन माग गर्दै आएको थियो । बीमा कार्यक्रम अन्तर्गत इमर्जेन्सीमा आउने स्वास्थ्य बीमा गरेका बिरामीहरुलाई रिफर सेवा आबश्यक नपर्ने आज एक कार्यक्रमकाबीच अस्पताल स्रोतले पत्रकार सम्मेलनद्वारा जनाएको छ ।
तर अन्य बिरामीहरुले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनुपर्ने जस्ता प्रावधान बनाइएको सिएमसी अस्पतालका निर्देशक दयाराम लम्सालले जानकारी दिनुभयो ।
स्वास्थ्य बीमा मार्फत उपचार गर्दा बोर्डले तोके अनुसार सरकारी अस्पतालमा १० प्रतिशत र निजीमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । सोही अनुसार, सिएमसीमा उपचार गर्दा पनि उपचार खर्चको २० प्रतिशत बिरामीले व्यहोर्नुपर्ने हुन्छ ।
निजी मेडिकल कलेज भएरपनि राज्यले तोकेका निशुल्क सेवाहरु बिपन्नलाई प्रदान गराउदै आइरहेको छ । २० बर्ष भन्दाबढी सुपर स्पेशलिष्ट सेवा यहाँ उपलब्ध छन् ।
रु. एक लाखसम्म निशुल्क सेवा र क्यान्सर उपचारमा विभिन्न प्रदेशहरुले दिने छुट सुबिधापनि अस्पतालले उपलब्ध गराउदै आइरहेको लम्सालले जानकारी दिनुभयो ।
गत आर्थिक बर्षमा एक लाखसम्मको छुट लिनेको संख्या ९९२ रहेको थियो । निशुल्क डाइलासिस ६ हजार ३ सय ३१ रहेको छ । यसैगरी भरतपुर महानगर क्षेत्रभित्रका महिलाहरुका लागि निशुल्क परिक्षण कार्यक्रम अन्तर्गत ४ हजार ३ सय ९५ जनाले सेवा लिएका छन् । यसैगरी अस्पताल स्रोतका अनुसार, गत आर्थिक बर्षमा बिपन्न गरिवका लागि प्रदान गराइएको छुट अन्तर्गत ५ करोड ६१ लाख ८ हजार ४ सय १३ रुपैयाँ बराबरको निशुल्क उपचार सेवा गराइएको लम्सालले बताउनुभयो । यसअघि गत आर्थिक बर्षमा एक हजार ५५ जनाले प्रसुती सेवा समेत लिइसकेका छन् ।