नेपालकै पहिलो भागवत वाचिका एवं श्री १०८ सादवी माता तारा घिमिरेले पुनः नेपाललाई वैदिक सनातन हिन्दुराज्य स्थापित गर्नुपर्ने धारणा राख्नुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै माता घिमिरेले राजनीतिक दलका नेताहरूका कारण धर्म संकटमा परेको बताउनुभएको हो ।
उहाँले बहुसंख्यक हिन्दुराज्य भएको मुलुकमा जबर्जस्त धर्मनिरपेक्षता बनाउनु नै राज्यको ठूलो कमजोरी भएको उल्लेख गर्नुभयो । बिदेशी शक्ति र पश्चिमी शैलीको सिको गर्दा आफ्नो राष्ट्रको गौरव र स्वाभिमान लुटिएकोप्रति माता घिमिरेले चिन्ता व्यक्त गर्नुभयो ।
सस्तो लोकप्रियताका कारण एक अर्काबीचको धार्मिक सद्भाव खलबलिएको र साम्प्रदायिक द्वन्द्वको स्थिति सिर्जना भएको बताउनुभयो । अनेकतामा एकताको उदाहरण प्रस्तुत गर्दै माता घिमिरेले अब सबै मिलेर फेरि देशमा हिन्दुराज्य फर्काउनुपर्ने तर्क गर्नुभयो ।
देशका महत्वाकांक्षी धार्मिक क्षेत्रहरुको खोजीगरी तिनीहरुको संरक्षण र सम्बर्द्धनमा लाग्नु आजको अपरिहार्य आबश्यकता भएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै उहाँले अबको शिक्षा प्रणाली सैद्धान्तिक र व्यवहारिकसंगै नैतिकवान हुनुपर्ने बताउनुभयो । प्रावि तहदेखि संस्कृति र नैतिक शिक्षाको प्रारम्भ गर्दै बिद्यार्थीहरुलाई धर्म र संस्कृतिका महत्त्वका बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।