सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले १६औँ वार्षिकोत्सव शुक्रवार विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना एवं सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको उद्घाटन हुँदै छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले बिएचएम र बिआइएम पढाउँदै छ ।
भरतपुर ओरालोस्थित सेन्ट्रल टावरमा शुक्रवार बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम हुने सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी)ले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम, सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको पौडेल आफैले उद्घाटन गर्नुहुनेछ । सेन्ट्रल कलेजले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ । नेपालमै पनि उच्च शिक्षा पढाउने गरी सेन्ट्रल ग्रुपले सेन्ट्रल मोडल कलेज स्थापना गरेको हो ।
बिएचएम र बिआईएम पढेपछि नेपालमै जागिर पाइने र आफ्नै व्यवसाय सुरु गर्न पनि सकिने उहाँले बताउनुभयो । बिएचएममा ६६ सिट र बिआईएममा ६६ सिटमा विद्यार्थी भर्ना गर्नको लागि सेन्ट्रल मोडल कलेजले स्वीकृति पाएको छ । सेन्ट्रल ग्रुपले स्नातकोत्तरसम्म पढाउनेगरी विद्यालय कलेज नै स्थापना गर्ने योजना समेत बनाएको पौडेलले उद्घोष गर्नुभयो ।
वार्षिकोत्सवको अवसरमा क्रिकेट, फुटवल र भलिबल खेलसँग सम्बन्धित विभिन्न क्लबहरुलाई खेल सामाग्री वितरण गरिने कलेजले जनाएको छ । त्यस्तै, सांस्कृतिक कार्यक्रम, सेन्ट्रल कलेज सम्बन्धि म्युजिक भिडियो प्रिमियर शो र सामाजिक संघसंस्थालाई सम्मान कार्यक्रम हुने पौडेलले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार पशुपति शर्मा, नेपाल आइडल सिजन ५ का विजेता करन परियार र कमेडि च्याम्पियन सुनिल खड्का आउने भएका छन् । स्थानीय कलाकार सञ्जय देवकोटा लगायतको पनि प्रस्तुती रहने कलेजले जनाएको छ ।