नारायणी कलामन्दिर नारायणगढको आयोजनामा भरतपुरमा एकदिने रोपाइँ जात्रा हुने भएको छ ।
यही भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन रोपाइँ जात्रा गर्न लागिएको हो । नेपाली मौलिककला, साहित्य र संस्कृतिको संरक्षण गर्ने हेतुले सो कार्यक्रम आयोजना गर्न लागिएको रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले जानकारी दिनुभयो ।
कृषि पेशामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली सरक्तिको एउटा उत्कृष्ट प्रतिविम्व हो । आ-आफ्नो खेतमा रोपाइँ सकेर क्वाँटी खाएर जीवनलाई नयाँ स्फूर्ति दिई शारीरिक रूपले समेत सक्षम भई भाद्र कृष्णाष्टमीको दिन आनन्द पूर्वक यो जात्रा मनाउने प्रचलन छ ।
मनोविनोदको लागि मात्र नभई यो जात्रा सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउने सुन्दर अवसर रहेको छ । यावत दुःख र कष्ट भुलेर पनि मानिसहरू आफ्नो दायित्व निर्वाह पश्चात् निर्धक्कसँग फुर्सद लिएर निर्भयरूपले यो जात्रा मनाउने प्रचलन रहेको नारायणी कलामन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“कर्म गुर फलको आशा नगर” भन्ने भगवान् श्रीकृष्णको सन्देश छर्ने यो जात्रा सुख, शान्ति अनि प्रेम र सद्भाव छर्ने पर्वको रूपमा समाजले स्वीकारी सकेको महत्वपूर्ण पक्ष हो । पञ्चेवाजाको धुनमा रोपाइँ गर्दै मनोरञ्जन गरिने यो जात्रा नेपाली मात्रको धमनी हो र यसलाई जीवन्त राख्नु हामी सबैको धर्म र कर्तव्य रहेको श्रेष्ठले बताउनुभयो ।
भदौ १० गते बिहान ८ बजेदेखि नारायणी कलामन्दिर, बालकुमारी चोक, मिलनरोड, शहिदचोक, पुल्चोक मेनरोड हुँदै पुनः नारायणी कलामन्दिरमा आएर सम्पन्न हुने रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले बताउनुभयो ।
लोप हुन लागेको पञ्चेबाजाको तालमा असारे गीत गाएर रोपाइँको झझल्को दिने गरी बिच सडकदेखि बजारमा अघि अघि गोरु, अनि हली र बाउसे तथा पछि-पछि रोपाहारले धान रोपाइँ गरे झै गर्ने यो जात्राको मुख्य आकर्षण रहेको हुन्छ। यस जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपाइँ गरेको हेर्न पाइन्छ ।