चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३९४ जनाको परीक्षण गर्दा ५८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये ४१७ चितवनका छन् भने १७१ जना जिल्ला बाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो ।
साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा २३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा १०७, खैरहनीमा ११, रत्ननगरमा ४९, माडी र राप्तीमा ३, र कालिका नगरपालिकामा ८ जनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ल्लामा भेटिएका सङ्क्रमितमध्ये २२५ महिला र १९२ जना पुरुष रहका छन् ।
बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको र प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले जानकारी दिनुभयो ।