चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले देशको अवस्था झनझन बिकराल बन्दै गइरहेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा श्रीमती संघ भरतपुर १५ फुलबारीले आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै पूर्वमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
देशको परिवर्तनकारी भूमिकामा भुपु सैनिकले खेलेको योगदानलाई स्मरण गर्दै उहाँले राज्यले १२ बुँदे सम्झौतापछि तीनका सेवा सुबिधामा समेत बन्देज लगाएको बताउनुभयो ।
बढ्दो युवापिढि दिनानुदिन बिदेशीएको उल्लेख गर्दै पूर्वमन्त्री पाण्डेले स्वदेशमा नै रोजगारीको वातावरण सिर्जना गर्न सबै दलहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले देश बिकासका लागि भन्दापनि बारम्बार सरकार परिवर्तन गर्ने खेलबाहेक अरु नभएको बताउनुभयो ।
देशको धर्म संस्कृति र मौलिक परम्पराको जगेर्नामा देशको एकमात्र राष्ट्रबादी पार्टी राप्रपा नै भएको उहाँले उल्लेख गर्नुभयो । बिदेशीको शक्ति र आडमा टेकेकाहरुले देशको अबस्था कंगाल बनाउदै लगेको बताउनुभयो ।
देशको राजनीतिक स्थायित्व बिकास र सुशासनका लागि बैरभाव नराखी सबै दलहरु सच्चिएर लाग्नुपर्नेमा जोडदिदै पूर्वमन्त्री पाण्डेले स्वदेश तथा बिदेशमा छरिएर रहनुभएका सबै दिदिबहिनीहरुमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभयो । राज्यका सबै क्षेत्रमा महिलाको सहभागीतालाई वृद्धि गर्दै रोजगारी र उद्यमका क्षेत्रमा समेत जोड्नुपर्ने धारणा राख्नुभयो ।