चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री तथा कालिका मिडिया ग्रुपका अध्यक्ष बिक्रम पाण्डेले धर्म संकृतिको जगेर्नामा सरकार थप जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
कालिका एफएम, टिभि कालिका र महाकालेश्वर शिवालय मन्दिरको संयुक्त आयोजनामा भएको बृहत तीज गीत प्रतियोगितालाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
हिन्दूनारीहरुको महान पर्व हरितालिका तीज लगायतका विभिन्न मौलिक चाडहरुमा एफएमले स्थापनाकालदेखि धर्म संस्कृतिको जगेर्नामा जोड दिएको बताउनुभयो ।
राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले प्रतियोगितामा भाग लिएका सबै महिला दिदीबहिनीहरुलाई शुभकामना दिनुहुँदै मौलिक परम्पराको जगेर्नमा लाग्न जोड दिनुभयो । त्यस्तै उहाँले मौलिक परम्पराका गीतको जगेर्नामा राष्ट्रिय ख्यातिप्राप्त कलाकार बिष्णु माझीले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
पछिल्लो समय पश्चिमी शैलीको प्रभावमा परेर बजारमा आएका केही उछृङ्खल गीतहरुले हाम्रा मौलिक परम्पराको धज्जी उडाएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
जबर्जस्त धर्म परिवर्तन गराउन खोज्ने गिरोहलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउदै पूर्वमन्त्री पाण्डेले तत्काल त्यस्ता गिरोहलाई कानुनी दायरामा ल्याउन सरकारलाई आह्वान गर्नुभयो ।
Advertisement
शुक्रबार, भदौ २१, २०८१
मा प्रकाशित