माडीको ऐतिहासिक एवं महत्वपूर्ण धार्मिक स्थल सोमेश्वरगढि जानेमा बाटोमा रहेको काठको कुवा (कठकुइयाँ) को संरक्षण र पिउने पानीको राम्रो प्रबन्धसंगै पर्यटकहरुको समेत ध्यान तानेको छ ।
सोमेश्वरगढि जाने बाटोमा रहेको कठकुइयाँमा ठुला ठुला सालका रुखहरु र माटोको ढिस्कोमा जमिनमुनि गाडीएको सालको काठबाट निरन्तर पानी बगिरहने गर्दछ । काठको धोद्रोबाट बगिरहने चिसो र निश्चल पानीले शितलताको महसुस गराउने गर्दछ भने विश्रामस्थलले थकाइ लाग्दा आराम गर्ने स्थल बनेको छ ।
सोमेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहले कठकुइयाँको संरक्षण गरि पिउने पानी र विश्राम स्थल निर्माण गरेको हो । प्राचिन कालमा आदिवासी जनजाती समुदायले उक्त पानी जीवनजलको रुपमा प्रयोग गर्दै आएको बताइन्छ । सदाबहार ऐतिहासिक कालखण्ड देखि सालको रुखबकाट निरन्तर एकनासले बगीरहेको पानीलाई व्यवस्थित गरि पिउने पानी र विश्रामस्थलको रुपमा निर्माण गरिएको हो ।