चितवनको व्यवसायी क्षेत्रमा कृष्ण भट्ट परिचीत नाम हो । उनका थुप्रै संघर्षका कथा र वेदना छन् ।
सानै उमेरदेखि लगनशील र पढाईमा समेत मेहनती भट्ट मध्यम परिवारका व्यक्ति हुन् । काममा लागेपछि एकोहोरो फत्ते नभएसम्म निरन्तर लागिरहने उनी असाध्यै मेहनती र परिश्रमी स्वभावका छन् ।
उनको जन्म बि.स. २०३६ सालमा गोरखामा भएको हो । ५२ सालदेखि उनले होटलमा काम गर्न सुरु गरेका थिए । त्यो समयमा होटलमा काम गर्न ज्यादै ठुलो चुनौती भएको उनी बताउँछन् । अहिलेको जस्तो सुविधाजनक होटल त्यो बेलामा नभएपनि ग्राहकको चाप भने उत्तिकै थियो ।
खानेकुरा समेत सस्तो र सर्वसुलभ मुल्यमा उपलब्ध हुने हुँदा ग्राहकको चाहना अनुरुपका परिकारहरु आफूले बनाउने गरेको भट्टले बताए । त्यो समयमा जम्मा ५ सय रुपैयाँ तलबमा काम गरेको भट्ट बताउँछन् ।
उनले भने, अहिलेको जस्तो खासै महँगी त्यो बेलामा थिएन । अहिलेका जस्ता मोबाइल फोन, सिनेमा हल त्यो बेला नभएकाले घुमघामपनि खासै हुन्थेन अनि खर्च हुने त कुरै भएन । काम गर्दै गर्दा ग्राहकहरुले खुसी भएर दिएको पैसा आफूले बचत गर्न थालेको उनले बताए ।
बचतको गरेको पैसाले घडेरी किनेको बताए । पछि बिस्तारै आफैले होटल संचालन गर्ने भट्टले निर्णय गरे । बि.स. २०६२ सालमा रु. ३ लाख २५ हजारमा होटल किनेर संचालन गरेको उनको भनाइ छ ।
उनको अहिले जमघट होटल हाकिम चोक र सहिद चोकमा गरी दुईवटा होटल छन् । भने ग्यालेक्सी गार्डेन रिसोर्ट एक अरबको लगानीमा ४५ जनाको समूहमा संचालन हुँदैछ ।
भट्टले अहिले २८ जना नेपाली युवाहरुलाई रोजगारी दिएका छन् । काम गर्ने अठोट र इच्छाशक्ति भएमा जस्तोसुकै कामपनि गर्न सकिने उनी बताउँछन् ।
व्यवसाय गर्न सबैभन्दा पहिले धैर्यता र इमानदारीता नै चाहिने उनको भनाइ छ । आफूले नगर्ने अनि अर्काको मुख ताक्ने प्रवृत्तिका कारण नै हाम्रो मुलुकमा बिकास हुन नसकेको बताए ।
सरकारले समेत युवाहरुलाई रोजगारीका क्षेत्रमा अझैपनि समेट्न नसक्नु दु:खद भएको बताए । हाम्रो देशमा अनेकौं सम्भावना छ, तर स्रोतसाधनको प्रयाप्तता छैन । यिनै कारणले देशमा युवा अटाउन नसकेको उनले बताए । अहिले हाल उनी होटल व्यवसायी संघ चितवनको अध्यक्ष समेत रहेका छन् ।