चितवनमा प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ हुने भएको छ । माघ २५ देखि २७ गतेसम्म संचालन हुने एक्स्पो चितवन उद्योग संघको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको सहकार्यमा हुन लागेको हो ।
चितवन प्रदर्शनी केन्द्र, भरतपुर-१०, प्रदर्शनीमार्गमा हुने उक्त एक्स्पोमा करीव ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य आयोजकले लिएको छ ।
आधुनिक प्रविधि, सिप र नवीनतालाई प्रोत्साहन गर्दै डेरी उत्पादनमा गुणस्तर वृद्धि गर्ने, डेरी उद्यमीको सशक्तिकरणको लागि सघाउ पुऱ्याउने र डेरी उद्योगको प्रवर्द्धनका लागि एउटै छानामुनी आधुनिक मेशिन तथा यन्त्र उपकरण उपलब्ध हुने अवसर प्रदान गरी डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग गर्ने उद्देश्यका साथ एक्स्पो संचालन गर्न लागिएको चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो ।
नेपालको दुग्ध क्षेत्र आर्थिक, सामाजिक र पोषणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेतापनि अझै धेरै चुनौतीहरूको सामना गरिरहेको परिपेक्षमा डेरी प्रदर्शनीको आयोजनाले दुग्ध क्षेत्रको वृहत विकासका लागि थप टेवा पुग्ने बिश्वास घिमिरेको छ ।
प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरणहरु, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरु, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरु, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, भाधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरु, स्टार्टअप प्याभिलियन लगायतका करीब एकसय वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।