यसबर्ष करिब ८ लाख भक्तजनले चितवनको प्रसिद्ध धार्मिक तिर्थस्थल बिक्रमबाबाको दर्शन गरेका छन ।
भरतपुर महानगरपालिका–२३ कसरामा चैत १६ गतेबाट सुरु भएको बिक्रम बाबा मेला आइतबार सकिएको हो ।
यो अवधिमा करिब ८ लाख भक्तजनले बिक्रमबाबा दर्शन गरेको भरतपुर महानगरपालिका वडा नम्वर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलामा करिब २ करोड बढिको कारोबार भएको छ । उहाँले मौसम अनुकुल नहुँदा लक्ष्य अनुसारको भक्तजनको संख्या बिक्रमबाबा नआएको बताउनुभयो ।
चैते दसैंको अवसर पारेर भएको बिक्रम बाबा मेला चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै हुने मेलाको व्यवस्थापन स्थानीय टोल विकास संस्था, चितवन राष्ट्रिय निकुञ्ज, भरतपुर महानगरपालिकाको वडा नं. २३ र नजिकका मध्यवर्ती उपभोक्ता समूहले व्यवस्थापन गरेका थिए ।
चैत औंसीदेखि पूर्णिमासम्म चल्ने मेला औंसीको दिन थारु समुदायका गुरौले पूजाआजा गरेपछि औपचारिकरूपमा शुभारम्भ हुने प्रचलन छ ।