चितवनमा पहिलोपटक बैशाख २५ गतेदेखि २७ गतेसम्म ‘घर बनाउने’ मेला आयोजना हुँदैछ ।
मेला एसवन होम्स र भी ग्रुपको आयोजनामा उद्योग बाणिज्य संघको परिसरमा हुन लागेको हो ।
मेलामा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउने सम्पूर्ण जानकारी एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । मेलामा नयाँ नयाँ घर बनाउने डिजाइन र टेक्नोलोजी, घर बनाउन आवश्यक सामग्रीहरुको प्रदर्शनी, बिशेषज्ञहरुबाट निःशुल्क परामर्श, आकर्षक छुट र अफर, घरजग्गा खरिद बिक्री र सरकारी नियम कानुनको बिस्तृत विवरण प्रस्तुत गरिनेछ ।
यसप्रकारको मेला चितवनमा नै पहिलोपटक आयोजना गरिएको निर्माण कम्पनी एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार घरजग्गा कारोबार, निर्माण तथा निर्माण सामग्री बिक्रेता र सेवाग्राहीलाई एउटै छातामुनि सबै प्रकारका सेवा तथा जानकारी दिने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । ‘यो मेलाले व्यवसायी र सेवाग्राहीबीच प्रत्यक्ष भेटघाट गराउँछ’, न्यौपानेले भन्नुभयो,घर जग्गाका लागि धेरै ठाउँ भौतारिनुपर्ने बाध्यता हट्नेछ ।’
मेलामा घर बनाउन चाहिने आवश्यक सामग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा जानकारी गराइने भी ग्रुपका अध्यक्ष विपीन कँडेलले जानकारी दिनुभयो । ‘चितवन देशकै केन्द्रविन्दु पनि हो, यसलाई लक्षित गरी उपभोक्तालाई सम्पूर्ण जानकारी दिने उद्देश्यसहित मेला आयोजना गर्न लागेका हौँ’, कँडेलले भन्नुभयो । घर तथा भवन निर्माण गर्दा चाहिने सामग्रीको जानकारीका साथै घरजग्गा किनबेच गर्न खरिदकर्ता र बिक्रेताबीच पनि भेट गराइने कँडेलले बताउनुभयो ।
उहाँका अनुसार मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी, विज्ञ, उपभोक्ताबीच परामर्श, अभिमुखीकरण, अन्तक्र्रियालगायतका कार्यक्रम हुनेछन् ।
उद्योग वाणिज्य संघ–चितवनको परिसरमा हुने मेलामा घरजग्गा, निर्माण सामग्रीलगायतका गरी २५ वटा स्टल रहने छन् । तीन दिनसम्म चल्ने मेलामा १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
मेलाले निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता, सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने आयोजको अपेक्षा छ । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा मेला हुन लागेको हो ।