चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने भएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय’ बनाउन लागिएको हो ।
परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न सङ्ग्रहालय निर्माण गर्न लागिएको परियार एकता समाज चितवनका अध्यक्ष सुरज परियारले जानकारी दिनुभयो । उहाँका अनुसार करिब रु दुई करोडको लागतमा सङ्ग्रहालय बनाउन लागिएको हो ।
अहिले भरतपुर महानगरपालिकाको सहयोगमा भवनको डिपीसीसम्मको काम सम्पन्न भएको छ । सभा हलसहित चार तलासम्मको भवन निर्माण गर्न लागिएको छ । “नयाँ पुस्तालाई आफ्नो परम्परागत पेसाबारे ज्ञान छैन”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृतिको विषयमा अध्ययन गर्न मिल्ने गरी सङ्ग्रहालय बनाउन लागेका हौँ ।”परियारको समुदायको दर्जी, सूचीकार, नगर्ची, ढोली, हुडके लगायतका थर हुन्छन् ।
यो समुदायको मुख्य पेसा विवाह, जात्रा र पूजा जस्ता अवसरमा पञ्चेबाजा बजाएर कार्यक्रम आरम्भ गर्ने, सिलाइ र पोसाक बनाउने हो । आजभोलि परियार समुदायले अपनाउँदै आएको पेसा अन्य समुदायले अवलम्ब गर्न थालेको समाजका अगुवा शेरबहादुर परियारले बताउनुभयो ।
