भरतपुर महानगरपालिका वडा नं–२ का आमाहरु यतिबेला महिला हिंसा तथा लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतना जगाउन सक्रिय भएका छन् ।
वडा नं–२ को आदर्श टोल विकास संस्थाका आदर्श आमा समूहमा आबद्ध एक सय बढी आमाहरु महिला हिंसा तथा लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतना जगाउन सक्रिय भएका हुन् ।
वडा तथा टोल विकास संस्थामा लागूऔषध सेवनका कारण घरेलु हिंसाका घटनाहरु बढ्न थालेपछि आमाहरु सचेतना जगाउन सक्रिय भएका हुन् । आदर्श आमा समूहकी अध्यक्ष हीरामाया थापाले आमाहरुले लागूऔषध दुर्व्यसनीहरुलाई समातेर प्रहरीको जिम्मा लगाउने काम गरेको बताइन् ।
उनका अनुसार वडाका कति आमाहरु लागूऔषध दुर्व्यसनीहरुलाई नियन्त्रणमा लिन रात्रि गस्ती अभियानमा पनि हिँडेका छन् ।
‘टोलमा महिला हिंसाका घटना बढ्न थाल्यो, वडाको मेलमिलाप समितिमा महिला हिंसाका उजुरीहरु पर्न थाले, लागूऔषध दुर्व्यसनीमा युवापुस्ता फस्दै गए’, अध्यक्ष थापाले भनिन्, ‘आमाहरु जागेपछि अवश्य सुधार हुन्छ, हामी सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्ती गरेका छौँ । आइतबार आदर्श आमा समूहको सभाहलमा टोलभरिका आमाहरुलाई बोलाएर प्रशिक्षण तथा सचतेना कार्यक्रम गरियो ।
मादक पदार्थ सेवनले महिला हिंसा बढेको र लागूऔषध दुर्व्यसनमा पछिल्लो पुस्ता फसेको निष्कर्ष निकाल्दै आमाहरुले घर–घरमा पुगेर सचेतनाका अभियानहरु चलाइरहेको थापाले बताइन् । आइतबारको सचेतना कार्यक्रममा अभियानकर्मी, अधिवक्ता तथा प्रहरीले समेत प्रशिक्षण दिएका थिए । दुर्व्यसनको असर र बच्ने उपायका बारेमा प्रस्ट पारिएको थियो ।
लागूऔषधका कारणले समाजमा अपराधका घटना वृद्धि भइरहेका छन् भने महिला हिंसा, घरेलु हिंसालगायतले पनि समाजमा अपराध बढेको छ । सचेतना कार्यक्रममा अध्यक्षता गरेकी थापाले समाजलाई अपराधरहित, हिंसारहित र लागूऔषध दुर्व्यसनरहित बनाउन टोलका एक सय आमाहरु सक्रिय भएको बताइन् ।
कार्यक्रमका प्रमुखअतिथि वडा नं–२ का वडाध्यक्ष मनोज रानाभाटले आमाहरुको सक्रियताको उच्च प्रशंसा गरेका थिए । उनले भने, ‘टोल, वडाले गर्ने काममा आमाहरुको हातेमालो भएको छ, जागरणमा आमाहरु लागेका छन्, यस कार्यक्रममा वडाको साथ र सहयोग रहनेछ ।’
उनले अब हरेक आमाबुबाले आफ्ना छोराछोरीको ब्याग हेर्ने, बिस्तरा हेर्ने र भित्रका कोठामा चुकुल लगाएर सुत्न नदिने अवस्था सिर्जना गर्नुपर्ने बताए । वडाध्यक्ष रानाभाटले भने, ‘जाँडरक्सी, चुरोट बेचबिखन गर्नका लागि पनि उमेर तोकिनुपर्छ, भरतपुर–२ ले सुरू गरेको रात्रिकालीन बजारलाई थप व्यवस्थित र दुव्र्यसनरहित, जुनकुनै हिंसारहित बनाउन लाग्ने छौँ ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठले आमाहरुले आफ्नो परिवारको निगरानी गर्नुपर्ने बताए । उनले भने, ‘छोराले के गर्छ ? छोरीले के गर्छे ? छोराछोरीको झोलामा के छ ? उनीहरुको व्यवहार कस्तो छ ? विशेष ख्याल राख्नुपर्छ ।’ उनले अन्जानमा वा जानमा छोराछोरी लागूऔषधको दुव्र्यसनमा फसिरहेका बताए । उनले लागूऔषधसम्बन्धी सचेतना जगाउँदै कानुनी उपचारको विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख गोविन्द पुरीले एउटा घर सुधारका लागि गृहिणी महिलाको अहम् भूमिका हुने बताए । उनले जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा र लागूऔषध दुर्व्यसनी, यसले निम्त्याएको अपराधका फेहरिस्त बताउँदै अपराधरहित समाजको परिकल्पनामा लागेका आमाहरुको उच्च प्रशंसा गरेका थिए ।
जिल्ला लैङ्गिक हिंसा सञ्जाल समितिका सदस्य सुरज सापकोटाले समाजको विकास निर्माणमा सबैको उत्तिकै दायित्व हुने बताउँदै भरतपुर–२ का आदर्श आमा समूहका सदस्यहरुले समाज सुधारमा चालेको कदम सकारात्मक भएको बताए ।
उनले भने, ‘आइतबार प्रशिक्षणसहितको सचेतना कार्यक्रम चल्यो, यसरी आगामी दिनहरुमा पनि आमाहरुले अनुगमन, घरदैलो अभियानलगायतका कार्यक्रम चलाएर समाजलाई एउटा सही गन्तव्यमा पुराउनुपर्छ ।’ लागूऔषध दुर्व्यसनीको अवस्था विकराल बन्दै गएको हुनाले वडा–२ का विभिन्न टोलहरुले रात्रि गस्ती अभियान चालेको उनी बताउँछन् ।
प्रहरी निरीक्षक भोला तिवारीले प्रशिक्षण दिएको कार्यक्रममा बागमती प्रदेश बालअधिकार संरक्षण समितिकी सदस्य मन्जु खाँड, आदर्श टोल विकास संस्थाका अध्यक्ष गोविन्द अर्याललगायतले मन्तव्य दिएका थिए ।