राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईं सोमबार राति रिहा भएका छन् ।
उच्च अदालत पाटनको आदेशअनुसार उनी दुई छुट्टाछुट्टै मुद्दामा २८ लाख धरौटी बुझाएसँगै डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलास उनलाई सोमबार राज्यविरुद्धको कसुरमा ३ लाख र बैंकिङ कसुरमा २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
गत जेठ २९ गते काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराधबारे अनुसन्धान गर्न उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
सोही आदेशअनुसार प्रसाईं कारागारमा बसेका थिए । गत असार ६ गते प्रसाईंसहित सुशील बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतम जिल्ला अदालतको आदेश खारेज गरी आफूहरूलाई थुनामुक्त गर्न आदेश माग गर्दै निवेदन दिएका थिए ।
सोही निवेदनमाथि न्यायाधीशहरू गुरुङ र श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भएको थियो । जसअनुसार सोमबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश भएको हो । प्रसाईं रिहा हुँदा उनका समर्थकले डिल्लीबजार कारागार परिसरमा खुसीयाली मनाएका थिए ।