पर्साका सखुवाप्रसौनी गाउँपालिका-२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो ।
तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उहाँले सबै खेतमा धान रोपिसक्नुभयो ।
“अकाशेपानी पर्नु अघि नै साढे नौ विघामा जेनतेन रोपाइँ गरिसकेका थियौँ, तर, डेढ विघामा लगाएको चैते धान भित्राउन ढिला भएकाले रोपाइँ गर्न सकेका थिएनौँ”, उहाँले भन्नुभयो, “एक सातायता यहाँ दिनहुँजसो पानी परेसँगै बाँकी खेतमा पनि धान रोपेका छौँ ।” उहाँले ढिलै भएपनि अकाशेपानी परेपछि यहाँका किसान उत्साही भएको बताउनुभयो ।
“एक त चैतेधान भित्राउनै ढिलो भयो, अर्कोतर्फ नियमित बिजुली नआउँदा पनि बोरिङमार्फत पानी निकालेर रोप्न गाह्रो भयो”, उहाँले भन्नुभयो । मधेश प्रदेश कृषि विकास निर्देशनालयका बरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादव मधेस प्रदेशमा अकाशेपानी परेसँगै धान रोपाइँ धमाधम भइरहेको बताउनुभयो ।
“यही साउन १६ गतेसम्म मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये ५७ दशमलव २७ प्रतिशतमा मात्रै धान रोपाइँ भएको थियो, पछिल्लो एक सातामा थप १९ दशमलव २७ हेक्टरमा धान रोपाइँ भएको छ”, बरिष्ठ वागवानी अधिकृत यादवले भन्नुभयो ।