काठमाडौंमा आज भएको ‘जेनजी’को प्रदर्शनका क्रममा १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।
यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ ।
उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । सिभिल अस्पतालका अनुसार, उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ ।
एभरेष्ट हस्पिटलमा उपचाररत ३४ जना उपचारत छन् । तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ । त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ । घाइतेहरू मध्ये १४ जना प्रहरी रहेका छन् ।
उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

