माडी नगरपालिका–९ अन्तर्गत हनुमानझुला क्षेत्रमा रहेका तीन विद्यालयका लागि यस वर्ष वडा कार्यालयले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तीमध्ये एक माध्यमिक विद्यालय तथा दुई प्राथमिक विद्यालय रहेका छन्।
विद्यालयको भौतिक संरचना पर्याप्त भए पनि विद्यार्थी संख्या न्यून रहेको वडाध्यक्ष घनश्याम दवाडीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा १५ लाख र खानेपानीका लागि थप ४ लाख रुपैयाँ छुट्याउँदै आएको छ।
यस क्षेत्रमा वडा नं. १० बनाउने प्रस्ताव भने अझै अनिश्चित रहँदा करिब ५०० घरधुरीमध्ये धेरैजसो सुकुम्बासी बस्ती व्यवस्थापनको अभावमा समस्या झेलिरहेका छन्। खानेपानी, बिजुली, सिँचाइ तथा मोबाइल नेटवर्कको समस्या दिनप्रतिदिन बढ्दै गएको स्थानीयले बताएका छन्।
चुनाव नजिकिँदा नेताहरूले विकासका योजना र लालपुर्जाको आश्वासन दिएर आफूहरूलाई झुक्काउने गरेको स्थानीयको गुनासो छ। तत्कालीन सुकुम्बासी आयोगका अध्यक्ष बद्री तिमिल्सिनाले लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाए पनि आजसम्म निस्सा समेत नपाएको उनीहरूको भनाइ छ।
बिजुलीको अभावले स्थानीयले आज पनि टुकी बत्तिको भरमा जीवनयापन गर्नुपरेको छ। त्यस्तै, सञ्चार संरचना कमजोर भएकै कारण मोबाइल तथा इन्टरनेट सेवा लामो समयदेखि अवरुद्ध रहँदै आएको स्थानीय बासिन्दाले बताएका छन्।

