भरतपुर महानगरपालिकाले आ.व. २०८२/८३ अन्तर्गत सञ्चालन हुने माटो स्वास्थ्य सुधार कार्यक्रमका लागि कृषक समूह, कृषि सहकारी, कृषि फर्म तथा कृषि कम्पनीहरूबाट प्रस्ताव माग गरेको छ।
महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाले जारी गरेको सूचना अनुसार संघीय सरकारबाट प्राप्त सशर्त अनुदानमा सञ्चालन हुने यस कार्यक्रममा माटो परीक्षण निःशुल्क तथा अम्लीय माटो सुधारका लागि चुनमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
इच्छुक आवेदकले आवश्यक कागजातसहित सूचना प्रकाशित मितिदेखि ३० दिनभित्र प्रस्ताव दर्ता गर्नुपर्ने महानगरले जनाएको छ। तोकिएका मापदण्ड पूरा नभएका तथा म्याद नाघेका प्रस्ताव मूल्याङ्कनमा समावेश नगरिने महानगरको सूचनामा उल्लेख छ ।
यस कार्यक्रमअन्तर्गत पहिल्यै आ.व. २०८१/८२ मा माटो परीक्षण गराइसकेका कृषकलाई पुनः सोही जग्गाको माटो परीक्षणका लागि नमुना नल्याउन महानगरले आग्रह गरेको छ।

