चौथो गैंडाकोट महोत्सव–२०८२ आगामी पौष २५ गतेदेखि माघ १० गतेसम्म नारायणी नदी किनार, गैडाकोट–२ मा भव्य रूपमा आयोजना हुने भएको छ।
गैंडाकोटलाई उद्योग, व्यापार र पर्यटनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको महोत्सवमा करिब २५० स्टल रहनेछ भने करिब २ लाख दर्शकको उपस्थिति र लगभग २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
महोत्सवमा अटोमोबाइल, बैंक–वित्त, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, कृषि–जडीबुटी, हस्तकला, कपडा, जुत्ता–चप्पललगायतका सामग्रीको प्रदर्शनी तथा बिक्री हुनेछ। बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरूको समेत सहभागिता रहनेछ। सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो, बाल उद्यान, जल–मनोरञ्जन तथा विविध आकर्षणसमेत रहने छन्।
गैंडाकोटको पर्यटन, उद्योग, स्थानीय उत्पादन तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा सुरक्षादेखि यातायात, पार्किङ, फूड कोर्ट, मिडिया सेन्टर, वाइफाइ, प्राथमिक उपचारलगायत सम्पूर्ण सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।
उद्योग वाणिज्य संघ गैडाकोटको आयोजनामा गैडाकोट नगरपालिका सह–आयोजक रहने महोत्सवलाई विभिन्न सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, पत्रकार महासंघ तथा स्थानीय संघ–संस्थाहरूको सहकार्य रहने छ।
कार्यक्रम संयोजक छविलाल कंडेलले महोत्सवलाई सफल बनाउन सबै क्षेत्रका व्यक्ति, संस्थागत प्रतिनिधि तथा आम नागरिकको सक्रिय सहभागीता र सहयोगको आग्रह गरेका छन्।

