भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा आधुनिक ‘स्मार्ट शौचालय’ स्थापना गर्ने अभियानलाई गति दिएको छ। हाल दुई स्थानमा निर्माणाधीन स्मार्ट शौचालयको काम अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ।
यसअघि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएका दुई शौचालयसँगै अब चार वटा स्थानमा आधुनिक सुविधा उपलब्ध हुने भएका छन्।
महानगरका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार महानगरपालिका कार्यालय नजिक र छिमेकी जिल्ला प्रहरी कार्यालयको परिसरमा दुईवटा स्मार्ट शौचालय निर्माण भइरहेको छ। करिब एक करोड रुपैयाँ लागतमा बन्ने यी शौचालयमा विभिन्न आधुनिक प्रविधि जडान गरिएको छ।
आचार्यले महानगरपालिकामुखि रहेको शौचालयमा थारू समुदायको सांस्कृतिक पहिचान झल्किने संरचना समावेश गरिएको बताउनु भयो। प्रहरी कार्यालयतर्फको शौचालय भने पूर्ण आधुनिक शैलीमा निर्माण भइरहेको छ। भित्री भागमा दुवै शौचालयमा समान सुविधा रहनेछन्।
यी शौचालयहरू अपांगमैत्री हुनेछन्। साथै महिलाहरूका लागि स्तनपान कक्ष, बेबी डायपर परिवर्तन कक्ष तथा सेनिटरी प्याड फेर्न छुट्टै सुविधा समेत उपलब्ध गराइनेछ। पानीका धारामा सेन्सर जडान गरिनुका साथै पुरुष र महिलाका लागि छुट्टाछुट्टै नुहाउने व्यवस्थासमेत रहनेछ।
यसअघि भरतपुर अस्पताल अगाडि, गोन्द्राङ् र आँपटारी क्षेत्रमा करिब ७० लाख रुपैयाँ खर्चेर आधुनिक सार्वजनिक शौचालय निर्माण गरिसकेको महानगरले जानकारी दिएको छ।
महानगर प्रमुख रेनु दाहालका अनुसार सहरी क्षेत्रमा उपयुक्त ठाउँको अभावका कारण आवश्यक संख्यामा स्मार्ट शौचालय स्थापना गर्न चुनौती भए पनि मागअनुसार क्रमिक रूपमा निर्माण विस्तार गर्ने योजना रहेको छ।
