हेटौंडा बजार क्षेत्रको मुख्य सडकमा ५ सय ३१ संरचना शनिबार एकै दिन भत्काइएका छन् ।
डिभिजन सडक कार्यालय हेटौंडाले बिहान झिसमिसेदेखि साँझसम्मै डोजर चलाएर संरचना भत्काएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको पसल रहेको भवन सबैभन्दा पहिले भत्काइएको थियो । संरचना हटाउन कडा सुरक्षाबीच आधा दर्जन डोजर प्रयोग गरिएको थियो ।
रातोमाटेदेखि चौकीटोलको लोकप्रिय होटलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका संरचना भत्काइएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सडक दायाँबायाँका संरचना हटाउने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । हेटौंडा बजार क्षेत्रमा ‘सडक अतिक्रमण गरी बनाइएका संरचना’ भत्काउने भन्दै सूचना सार्वजनिक भएपछि त्यसविरुद्ध १६ मंसिरमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
रिटमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले ‘सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नू, राख्न लगाउनू’ भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेर २६ मंसिरमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।