चितवन उद्योग संघको आयोजनामा र नेपाली जुत्ता घर प्रा.लि.को सहकार्यमा चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रदर्शनी तथा व्यापार मेला–२०८२ भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गर्दै मेलाले पर्यटन तथा स्थानीय आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नुभयो।
मेलामा देशभरका करिब १००० मोडलका स्वदेशी जुत्ता–चप्पल प्रदर्शित छन्, जसमा बीएफ डियर हिल, बीएफ स्पोर्ट, रन सुज, फस्ट वाल्क, शिखर सुज, उत्सव र स्मार्ट सुजजस्ता ब्राण्ड समावेश छन्। ग्राहकहरूले १५ देखि ५० प्रतिशतसम्म छुटमा किनमेल गर्न सक्नेछन्।
आयोजकका अनुसार मेलामा ३० हजार जोडीभन्दा बढी जुत्ता–चप्पलको कारोबार भई करिब २ करोड रुपैयाँको व्यापार हुने अपेक्षा गरिएको छ। हरेक दिन ग्राहकलाई कुपन वितरण हुने र पुष २० गते लक्की ड्रमार्फत बम्पर उपहार दिइनेछ। साथै, चितवन फुटवेयर एक्स्पोको फेसबुक पेज लाइक–शेयर गर्दा २ प्रतिशत क्यासब्याक उपलब्ध गराइनेछ।
स्वदेशी उत्पादन प्रवर्द्धन, उपभोक्तासँग प्रत्यक्ष संवाद र उत्पादन गुणस्तर सुधार मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
निःशुल्क प्रवेशसहित मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।