पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सवको २७औँ संस्करण आगामी पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ।
होटल तथा पर्यटन व्यवसायीहरूको संस्था रेवान पोखराको आयोजनामा फेवा ताल किनारको करिब साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने जानकारी आयोजकले दिएको छ।
“सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारासहित आयोजना हुने महोत्सवले नेपाली खाना, संस्कृति, संगीत र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। दुई दशकभन्दा बढी समयदेखि निरन्तर हुँदै आएको यो महोत्सवले पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सफल भएको आयोजकको दाबी छ।
महोत्सवमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी, मौलिक भेषभूषा र नृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको स्वाद, चर्चित कलाकारहरूको लाइभ कन्सर्ट, लोकदोहोरी प्रस्तुति तथा फेवा तालमा बोट रेस, वेटर रेस, रस्साकस्सी जस्ता मनोरञ्जनात्मक खेलकुद गतिविधिहरू समेटिनेछन्।
यसैगरी पर्यटनसम्बन्धी टक शो, वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनीसमेत आयोजना गरिने जनाइएको छ। महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन व्यवसायको पुनरुत्थान र आर्थिक चलायमानतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
पोखरा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै आयोजना हुने यस महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड तथा गण्डकी प्रदेश सरकारको समेत सहकार्य रहनेछ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ भने सिद्धार्थ बैंक बैंकिङ पार्टनर रहेको आयोजकले जनाएको छ।

