उद्योगी–व्यवसायीको चासोको केन्द्रमा रहने उद्योग वाणिज्य संघ चितवन (उवासंघ) को ५८औँ अधिवेशन नजिकिँदै गर्दा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।
पुष २१ गते हुने अधिवेशनका लागि हाल दुई बलिया प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
हालका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी सुबेदी नेतृत्वको प्यानल र संघका सल्लाहकार शिरिष पन्त नेतृत्वको प्यानल उद्योगी–व्यवसायी समक्ष आफ्नो एजेन्डा र योजना लिएर सक्रिय रूपमा मत मागिरहेका छन्। पछिल्ला दिनहरूमा भने पन्तको पक्षमा माहोल क्रमशः सुदृढ बन्दै गएको देखिन्छ।
उवासंघले निर्वाह गर्नुपर्ने भूमिका, अधिकार र दायित्वका विषयमा स्पष्ट र खरो धारणा सार्वजनिक गर्दै आएका पन्त उद्योगी–व्यवसायीको ध्यान तान्न सफल भएका छन्। युवा जोश, ऊर्जा र व्यवहारिक भिजनका कारण उनी धेरै व्यवसायीको रोजाइमा पर्न थालेका छन्।
पन्तले उवासंघ चितवनको दशकौँ लामो गौरवपूर्ण इतिहास स्मरण गर्दै यसको गरिमा जोगाउन र व्यवसायीको हक–हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “उवासंघको गरिमा कायम राख्दै लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार र व्यवसायीका वास्तविक समस्या समाधानका लागि अध्यक्ष पदमा मेरो उम्मेदवारी हो।”
दुई दशकभन्दा बढी समयदेखि हार्डवेयर व्यवसायमा संलग्न पन्त पछिल्लो समय विद्युत व्यवसायमा समेत सक्रिय छन्।
लामो व्यवसायिक अनुभव, लगानी वातावरणका चुनौतीबारे गहिरो बुझाइ र सरोकारवाला निकायसँग समन्वय गर्ने क्षमताले उनलाई अध्यक्ष पदका बलिया उम्मेदवारको रूपमा अगाडि ल्याएको छ।
व्यवसायीले भोग्दै आएका वर्षौँदेखिका समस्या समाधान, लगानी सुरक्षाको प्रत्याभूति, सरकारी निकायसँग प्रभावकारी समन्वय तथा विगतका कमजोरी सुधार गर्दै सबैलाई समेटेर अघि बढ्ने आफ्नो योजना रहेको पन्तले बताए। उनले उद्योगी–व्यवसायीको सुझाव र सल्लाहका आधारमा संघलाई थप सशक्त बनाउने उल्लेख गरेका छन्।
जेन्जी पुस्ताको नेतृत्व आवश्यक भएको बताउँदै पन्तले चितवनको समग्र आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणमा उवासंघको भूमिका प्रभावकारी बनाउने आफ्नो लक्ष्य रहेको बताए।
पन्त नेतृत्वको प्यानललाई होटल व्यवसायी संघ चितवन, हार्डवेयर व्यवसायी संघ, फेन्सी व्यवसायी संघलगायत विभिन्न संघ–संस्थाले औपचारिक समर्थन जनाइसकेका छन्। अन्य वाणिज्य तथा वस्तुगत संघसँग पनि निरन्तर छलफल र समन्वय भइरहेको पन्तले जानकारी दिए।
पन्त प्यानलबाट उपाध्यक्ष पदका लागि शंकरप्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् भने सदस्य पदका उम्मेदवारको टुंगो पनि अन्तिम चरणमा पुगेको बताइएको छ।
उद्योगी–व्यवसायीको बढ्दो समर्थन, स्पष्ट एजेन्डा र युवा नेतृत्वको संयोजनका कारण यसपटकको उवासंघ चितवनको निर्वाचन थप चासो र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।

