नेपाली राजदूतावास, बर्लिन र गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति डोल्नोश्लाँस्की (Dolnoslaskie) को संयुक्त आयोजनामा पोल्यान्डको भ्रोस्वाभ सहरमा सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ।
उक्त घुम्ती सेवा सन् २०२६ जनवरी २, ३, ४ र ५ तारिखका दिन सञ्चालन गरिएको थियो। सेवाको अवधिभर आयोजक संस्थाका स्वयंसेवकहरू, पत्रकार तथा सम्बन्धित सबै पक्षहरू अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए।
घुम्ती सेवामा नेपाली दूतावास, बर्लिनबाट विशेष रूपमा पोल्यान्ड खटिएर आउनुभएका कम्प्युटर अपरेटर रञ्जन यादव तथा चन्द्रकला परियारको सक्रिय उपस्थितिमा सेवा प्रदान गरिएको थियो।
चार दिनसम्म सञ्चालन भएको उक्त सेवाबाट जम्मा ४९६ जना सेवाग्राहीले राहदानी नवीकरण सेवा लिई प्रत्यक्ष लाभान्वित भएका छन्।
आयोजक संस्थाहरूले घुम्ती सेवाको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, पत्रकार तथा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

