थारू संस्कृति जोगाउनका लागि यही पुस २९ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ ।
पूर्वी चितवनको खैरहनीमा ११ औँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धधन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
२०७० सालदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ ।महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार अनुसार महोत्सव सम्पन्न गर्न तीन सय सय ५१ सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० कक्ष रहनेछन् ।
त्यसमध्ये थारु जाति लगायत विभिन्न जातिका खानाका परिकारहरु बिक्री वितरणका लागि २४ वटा स्टल रहने चौधरीले जानकारी दिनुभयो ।
महोत्सवमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा तथा ओपेरा हाउस निर्माण समेत गरिनेछ ।महोत्सवलाई चितवनबासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताउनुभयो ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका कक्ष रहनेछन् ।
माघ १ गते बाहेक हरेक दिन दिउँसो १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था समेत आयोजकले मिलाएको छ । त्यसपश्चात प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश टिकटको व्यवस्था रहेको कार्यक्रममा विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ ।

