सरकारले आगामी माघ २ गते देशभर २८औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको छ ।
‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ यस दिवस देशव्यापी रूपमा मनाइने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक इ रविन्द्र बोहराले काठमाडौँ महानगरपालिकास्थित खुलामञ्चमा मूल समारोह आयोजना गरिने जानकारी दिनुभयो ।
उहाँकाअनुसार दिवसका दिन बसन्तपुरबाट सुरु हुने भूकम्प सुरक्षा र्याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुलामञ्च पुग्नेछ । र्यालीपछि प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम आयोजना हुनेछ ।
सोही स्थानमा दुई दिने भूकम्प सुरक्षा प्रदर्शनी पनि सञ्चालन गरिनेछ । प्रदर्शनीमा विपद् जोखिम न्यूनीकरण क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूको सहभागिता रहने बताइएको छ ।

