नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको कुनै पनि भेलालाई निर्वाचन आयोगले वैधता नदिने विश्वास व्यक्त गर्नुभएको छ।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खड्काले पार्टी विधानविपरीत गरिएको विशेष भेलाले कानुनी मान्यता नपाउने स्पष्ट गर्नुभयो।
उहाँका अनुसार महाधिवेशन आयोजना गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ र कुनै व्यक्ति वा पदाधिकारीले स्वेच्छाले विशेष महाधिवेशन बोलाउन नपाउने व्यवस्था विधानमै स्पष्ट छ।
विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले त्यसको औचित्य समाप्त भइसकेको खड्काको भनाइ छ। उहाँले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको जानकारी पनि दिनुभयो।
निर्वाचन आयोगले दबाब वा प्रभावमा परेर गलत निर्णय गरे कांग्रेसले प्रतिकार गर्ने चेतावनी दिँदै खड्काले फागुन २१ गतेको निर्वाचन र संविधानको संरक्षण पार्टीको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

