कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई निष्पक्ष र स्वस्थ चुनावी प्रतिस्पर्धामा सहयोग पुर्याउने उद्देश्यले निर्वाचन आचारसंहिता–२०८२ जारी गरिएको बताउनुभएको छ।
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा उहाँले आचारसंहिता महिनौँअघि नै सरोकारवाला निकायको सुझाव संकलन गरी तयार गरिएको जानकारी दिनुभयो।
सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्न मेटालगायत कम्पनीसँग सहकार्य गरिने र मतदातालाई पैसा बाँडेको प्रमाण भेटिए कडा कारबाही गरिने उहाँको भनाइ थियो।
उम्मेद्वार तथा परिवारका सदस्यको बैंक खाता अनुगमन गरिने, आचारसंहिता उल्लङ्घन भए उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ। यसपटक पहिलोपटक ‘हरित निर्वाचन’ अवधारणा समेट्दै प्लास्टिकजन्य सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ।
राजनीतिक दलका प्रतिनिधिहरूले आचारसंहिता कार्यान्वयन निष्पक्ष र व्यवहारिक हुनुपर्ने सुझाव दिएका छन्। ठूला र साना सबै दललाई समान रूपमा लागू गर्नुपर्नेमा उनीहरूको जोड थियो।

