नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले आसन्न निर्वाचनमा पार्टीले कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पार्नुभएको छ। कांग्रेसको हालै सम्पन्न महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएसँगै नेता श्रेष्ठ चितवनबाट पार्टीको केन्द्रीय सदस्यसमेत बन्नुभएको हो।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा नेता श्रेष्ठले कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको ६०/४० को भागबण्डाको राजनीति अब समाप्त भएको दाबी गर्नुभयो।
उहाँले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकका रूपमा सम्मान गर्दै गगन थापाको नेतृत्वमा मुलुकले नयाँ निकास पाउने विश्वास व्यक्त गर्नुभयो।
श्रेष्ठले नेपाली कांग्रेस विधानसम्मत ढंगले अगाडि बढ्ने बताउँदै आसन्न निर्वाचनमा चितवनका सबै निर्वाचन क्षेत्र कांग्रेसको किल्ला बन्ने उद्घोष गर्नुभयो। विगतमा कांग्रेसले अन्य दलका चुनाव चिन्ह —हसिया–हथौडा र सूर्यमा भोट हाल्नुपर्ने बाध्यताको अन्त्य भएको जिकिर गर्नुभयो। कांग्रेस अब आफ्नै एजेन्डा, आफ्नै नेतृत्व र आफ्नै संगठनात्मक शक्तिका साथ जनतामाझ जाने उहाँको भनाइ छ ।

